~ लक्ष्मी सुवेदी
दुवै काला छन्—
कौवा पनि,
कोइली पनि।
तर
कालो रङले
कहिल्यै आत्माको परिचय लेख्दैन।
एउटाले
अन्धकारलाई व्यापार बनायो,
अर्कोले
त्यही अन्धकारबाट
बिहानको स्वर जन्मायो।
वनले
दुवैलाई एउटै आँखाले हेर्यो।
रङको अदालतमा
स्वरको कुनै साक्षी हुँदैन।
कौवा
बारम्बार
कोइलीको गुँड वरिपरि घुमिरहन्थ्यो।
उसलाई
अण्डा चाहिएको थिएन,
उसलाई
फूल चाहिएको थियो—
त्यो फूल
जो कुनै हाँगामा होइन,
विश्वासमा फुलेको थियो।
उसले
चञ्चुले फूल चोर्थ्यो,
र त्यसलाई
आफ्नै मुकुटमा सिउर्थ्यो।
पछि
उही फूल देखाएर भन्थ्यो—
“हेर,
वसन्त मैले ल्याएको हुँ।”
कोइली भने
फूल हराएको गुँडभित्र
स्वरको बीउ रोपिरहन्थी।
तर
गीतले
चोरिएको फूल फिर्ता ल्याउन सक्दैन।
सबैभन्दा गहिरो घाउ
पराइले दिएको थिएन।
त्यो त
आफ्नै कालो प्वाँखले
आफ्नै छाती कोतरेको चोट थियो।
रगत एउटै थियो,
आकाश एउटै थियो,
रङ पनि एउटै थियो—
तर
एउटाले
आफ्नै वन बेच्यो,
अर्कोले
आफ्नै वनका लागि गीत बचाइरही।
इतिहासमा
धेरै युद्धहरू
पराइसँग लडिएका छैनन्।
धेरै सभ्यताहरू
आफ्नै चञ्चुबाट
आफ्नै मुटुमा घोचिएर
ढलेका छन्।
कौवाले
जब आफ्नै वनलाई
पराइको नक्सामा बेचिदियो,
त्यस दिन
उसले कोइलीलाई मात्र होइन,
आफ्नै जातिलाई पनि
टुहुरो बनायो।
किनकि
आफ्नै गुँडबाट
फूल चोर्नेहरू
अन्ततः
पराइको बगैँचामा पनि
माली बन्दैनन्—
उनीहरू
सधैं
चोरकै रूपमा चिनिन्छन्।
र कोइली?
ऊ अझै पनि
कालो नै छ।
तर
उसको कालोपन
रातजस्तो छ—
जहाँबाट
हरेक बिहान जन्मिन्छ।
कौवाको कालोपन भने
धुवाँजस्तो छ—
जो
आफ्नै घर जलाएर
आकाशलाई दोष दिन्छ।

Leave a Reply