डा खगेन शर्मा
गुवाहाटी विश्वविद्यालय
आजको समय शिक्षा प्रणाली तीव्र रूपमा परिवर्तन भइरहेको युग हो। विशेषगरी असम तथा भारतभरिका विद्यालय तथा विश्वविद्यालयहरूमा उच्च शिक्षाको संरचना, भर्ना प्रक्रिया, विषय छनोट प्रणाली र मूल्याङ्कन पद्धतिमा ठुलो परिवर्तन आएको छ। कक्षा १२ उत्तीर्ण गरेपछि विद्यार्थीहरूले कुन विषय पढ्ने, कुन विश्वविद्यालय रोज्ने, कुन प्रवेश परीक्षा दिने, भविष्यमा कुन क्षेत्रमा करियर बनाउने जस्ता प्रश्नहरू अत्यन्त महत्त्वपूर्ण हुन्छन्। त्यसैले कक्षा ११-१२ का विद्यार्थीहरूले समयमै सचेत भएर सही योजना बनाउन अत्यावश्यक भएको छ।
पुरानो शिक्षा प्रणालीदेखि नयाँ शिक्षा प्रणालीसम्म
असमको उच्च शिक्षा प्रणालीले धेरै चरण पार गर्दै अहिलेको आधुनिक संरचना प्राप्त गरेको हो। १९७० को दशकअघि असममा 10+2+2 शिक्षा प्रणाली प्रचलित थियो। विद्यालयको दस वर्षे शिक्षा पूरा गरेपछि विद्यार्थीहरूले दुईवर्षे Pre-University (PU) अध्ययन गर्थे र त्यसपछि दुई वर्षको Degree Course पढ्नुपर्थ्यो। त्यस समय Semester प्रणाली, Credit System, Internal Assessment वा Continuous Evaluation जस्ता आधुनिक अवधारणाहरू थिएनन्। वार्षिक परीक्षा प्रणाली (Annual Examination System) अनुसार वर्षमा एकपटक अन्तिम परीक्षा सञ्चालन गरिन्थ्यो। त्यसबेला Pass Course बढी लोकप्रिय थियो भने Honours वा विशेष विषयगत अध्ययन सीमित मात्रामा उपलब्ध थियो।
पछि 10+2+3 शिक्षा प्रणाली लागू गरियो र करिब १९८४–८५ सालदेखि तीनवर्षे Degree Course अर्थात् TDC प्रणाली सुरु भयो। BA, BSc तथा BCom जस्ता पाठ्यक्रमहरू तीनवर्षे बनाइए। यस अवधिमा Pass Course र Major Course विशेष चर्चित भए। Major Course मा विद्यार्थीहरूले कुनै एक विषयमा विशेष अध्ययन गर्ने अवसर पाउँथे। पछि Part-I, Part-II र Part-III प्रणाली लागू भयो, जहाँ प्रत्येक वर्ष अन्तिम परीक्षा लिइन्थ्यो।
२०११–१२ सालपछि UGC को निर्देशनअनुसार Semester System लागू गरियो। तीनवर्षे पाठ्यक्रमलाई छ वटा Semester मा विभाजन गरियो। SGPA तथा CGPA प्रणाली सुरु भयो। Internal Assessment तथा Continuous Evaluation लाई महत्त्व दिन थालियो। २०१८ पछि CBCS (Choice Based Credit System) लागू भयो, जसले विद्यार्थीहरूलाई Elective Subject छनोट गर्ने स्वतन्त्रता प्रदान गर्यो। Skill Enhancement Course, Ability Enhancement Course जस्ता नयाँ विषयहरू थपिए।
हाल नयाँ राष्ट्रिय शिक्षा नीति (NEP 2020) अन्तर्गत FYUGP (Four Year Undergraduate Programme) लागू गरिएको छ। यस प्रणालीमा चारवर्षे स्नातक पाठ्यक्रम, Multiple Entry-Exit System, Major-Minor Subject, Internship, Research Component तथा Skill-based Learning लाई विशेष महत्त्व दिइएको छ। विद्यार्थीहरूले एक वर्षपछि Certificate, दुई वर्षपछि Diploma, तीन वर्षपछि Bachelor Degree र चार वर्षपछि Honours वा Honours with Research Degree प्राप्त गर्न सक्छन्।
अहिलेको भर्ना प्रक्रिया र डिजिटल शिक्षा प्रणाली
आजको समयमा विश्वविद्यालय तथा कलेजको भर्ना प्रक्रिया पूर्ण रूपमा डिजिटल बन्दै गएको छ, कलेज गएर बुझ्ने नियममा परिवर्तन आएको छ। घरबाटै सबै बुझिन्छ।। National Testing Agency (NTA) द्वारा सञ्चालन गरिने CUET (Common University Entrance Test) अहिले UG तथा PG भर्नाको मुख्य आधार बनेको छ। धेरै विश्वविद्यालयहरूले CUET अङ्कका आधारमा Merit लिस्ट तयार गर्छन्। यसका साथै Samarth eGov Platform मा आधारित Assam State Higher Education Admission Portal तथा विश्वविद्यालयहरूको आफ्नै पोर्टलमार्फत आवेदन, काउन्सेलिङ, सिट बाँडफाँड तथा भर्ना प्रक्रिया सञ्चालन गर्ने गरिन्छ।
विद्यार्थीहरूले समयमै पोर्टलमा दर्ता गर्नुपर्छ, आवश्यक कागजात अपलोड गर्नुपर्छ, विषय तथा कलेज छनोट गर्नुपर्छ र अनलाइन शुल्क तिर्नुपर्छ। विश्वविद्यालयहरूले त्यसपछि Merit List प्रकाशित गर्छन्, Document Verification तथा Counselling प्रक्रिया सम्पन्न गर्छन्। सामान्यतया January देखि March सम्म CUET Registration हुन्छ, April र May मा विश्वविद्यालय पोर्टल खुल्छ, June र July मा Counselling तथा Merit प्रक्रिया सञ्चालन हुन्छ र August मा नयाँ शैक्षिक सत्र सुरु हुन्छ।
कक्षा १२ का विद्यार्थीहरूले किन अहिले नै सजग हुनुपर्छ?
धेरै विद्यार्थीहरूले कक्षा १२ को परीक्षा सकिएपछि मात्र भविष्यबारे सोच्न थाल्छन्। तर आजको प्रतिस्पर्धात्मक युगमा त्यसो गर्नु मुर्खामी हुन्छ। विद्यार्थीहरूले कक्षा ११–१२ पढ्दै गर्दा नै आफू कुन क्षेत्रमा जान चाहन्छन् भन्नेबारे स्पष्ट धारणा बनाउन आवश्यक पर्छ। विज्ञान, वाणिज्य, कला, व्यवस्थापन, कानून, अनुसन्धान, प्रशासन, सूचना प्रविधि, पत्रकारिता, चिकित्सा, शिक्षण, सामाजिक विज्ञान वा अन्य कुनै क्षेत्रमा करियर बनाउने लक्ष्य अनुसार विषय छनोट गर्नुपर्छ। ०००
गलत विषय छनोटले भविष्यमा समस्या निम्त्याउन सक्छ। अचेल कुन विषय कति क्रेडिट पढेको छ भन्ने खोजी हुन्छ। उदाहरणका लागि, आफूलाई राम्रो लाग्छ भन्दैमा, केवल साथीहरूको प्रभावमा वा घर-समाजको दबाबमा विषय रोज्दा पछि रुचि हराउन सक्छ अनि जीवनको मोड बदलिन सक्छ। त्यसैले विद्यार्थीहरूले आफ्नो क्षमता, रुचि, आर्थिक अवस्था, रोजगार सम्भावना तथा भविष्यको लक्ष्यलाई ध्यानमा राखेर निर्णय लिनुपर्छ।
विषय छनोट गर्दा ध्यान दिनुपर्ने कुराहरू
१. आफ्नो रुचि र क्षमता पहिचान गर्नुपर्छ।
२. भविष्यको करियर लक्ष्य स्पष्ट हुनुपर्छ।
३. विश्वविद्यालय तथा पाठ्यक्रमको मान्यता जाँच गर्नुपर्छ।
४. CUET वा अन्य प्रवेश परीक्षाको विषय संयोजन बुझ्नुपर्छ।
५. रोजगार तथा उच्च शिक्षाको सम्भावना अध्ययन गर्नुपर्छ।
६. Skill-based तथा Research-oriented Course लाई पनि महत्त्व दिनुपर्छ।
७. केवल Degree होइन, Practical Knowledge र Communication Skill मा पनि ध्यान दिनुपर्छ।
विद्यार्थीहरूका लागि महत्त्वपूर्ण सुझाव
विद्यार्थीहरूले नियमित रूपमा आधिकारिक पोर्टलहरू हेर्नुपर्छ, विश्वविद्यालयका सूचनाहरू पढ्नुपर्छ र Admission Bulletin ध्यानपूर्वक अध्ययन गर्नुपर्छ। Marksheet, Certificate, Photograph, Digital Signature, Category Certificate तथा APAAR ID जस्ता आवश्यक कागजातहरू पहिल्यै तयार राख्नुपर्छ। इ सबै जस्तावेजमा तथा आधार कार्ड,भोटर कार्ड, पेन् कार्ड मा हिज्जे (Spelling) सही हुनुपर्छ। धेरै विद्यार्थीहरू समयमै जानकारी नपाउँदा वा deadline छुटाउँदा सुनौलो अवसर गुमाउँछन्। त्यसैले डिजिटल शिक्षा प्रणालीबारे जानकारी राख्नु आज अत्यन्त आवश्यक भएको छ।
APAAR ID (Automated Permanent Academic Account Registry ID) भनेको भारत सरकारद्वारा राष्ट्रिय शिक्षा नीति (NEP 2020) अन्तर्गत सुरु गरिएको एक अद्वितीय डिजिटल शैक्षिक परिचय नम्बर हो। यो “Academic Bank of Credits (ABC)” प्रणालीसँग सम्बन्धित हुन्छ र विद्यार्थीहरूको सम्पूर्ण शैक्षिक विवरणलाई डिजिटल रूपमा सुरक्षित राख्ने उद्देश्यले निर्माण गरिएको हो।
APAAR ID लाई विद्यार्थीको जीवनभर प्रयोग गर्न सकिने शैक्षिक पहिचानको रूपमा हेरिन्छ। यस ID मार्फत विद्यार्थीहरूले विद्यालयदेखि विश्वविद्यालयसम्मका Marksheet, Certificate, Diploma, Degree, Scholarship, Skill Course तथा Academic Credit जस्ता सम्पूर्ण शैक्षिक अभिलेख डिजिटल रूपमा सुरक्षित राख्न सक्छन्। यसले विद्यार्थीहरूलाई एउटा संस्थाबाट अर्को संस्थामा Credit Transfer गर्न, बीचमा अध्ययन रोकिएपछि पुनः अध्ययन सुरु गर्न तथा विभिन्न शैक्षिक सेवाहरू सहज रूपमा प्राप्त गर्न सहयोग पुर्याउँछ।
अचेल Samarth Portal लगायत धेरै विश्वविद्यालय तथा कलेजहरूको भर्ना प्रक्रियामा APAAR ID मागिने गरिएको छ। सामान्यतया यो ID DigiLocker तथा Aadhaar सँग जोडिएको हुन्छ, जसले शैक्षिक प्रमाणपत्रहरूको सत्यापनलाई अझ सरल र सुरक्षित बनाउँछ।
APAAR ID ( APAAR ID Official Portal ) का मुख्य उद्देश्य तथा फाइदाहरू निम्न छन्:
- प्रत्येक विद्यार्थीका लागि एउटै स्थायी शैक्षिक परिचय निर्माण गर्नु।
- Marksheet, Certificate तथा Degree हरू डिजिटल रूपमा सुरक्षित राख्नु।
- Academic Bank of Credits (ABC) प्रणालीलाई सहयोग गर्नु।
- भर्ना तथा शैक्षिक प्रमाणिकरण प्रक्रियालाई सजिलो बनाउनु।
- NEP 2020 अन्तर्गत Flexible Learning तथा Credit Transfer लाई प्रोत्साहन गर्नु।
- कागजी प्रक्रिया घटाई शिक्षा क्षेत्रमा पारदर्शिता बढाउनु।
विद्यार्थीहरूले विद्यालय, कलेज, DigiLocker वा Academic Bank of Credits (ABC) को आधिकारिक पोर्टलमार्फत APAAR ID बनाउनुपर्छ।
विद्यार्थीहरूले अर्को महत्वपूर्ण कुरा पनि अग्रिम रूपमा बुझेर तयारी गर्नुपर्छ कि केही सेमिस्टरहरूमा अनिवार्य रूपमा Internship गर्नुपर्ने हुन्छ। त्यसैले कम्तीमा छ महिना अघिदेखि नै तयारी सुरु गरी कुन संस्थामा, कुन प्रकारको कोर्स वा Internship गर्ने, आवेदन कहिले खुल्छ, दर्ता प्रक्रिया कसरी हुन्छ आदि विषयमा स्पष्ट जानकारी राख्न आवश्यक हुन्छ। अभिभावकहरूले पनि यसतर्फ विशेष ध्यान दिनुपर्छ, किनकि Internship तथा सम्बन्धित तालिमका क्रममा अतिरिक्त खर्चको आवश्यकता पर्न सक्छ।
निष्कर्षमा भन्दा – आजको उच्च शिक्षा प्रणाली पुरानो परम्परागत प्रणालीभन्दा धेरै फरक र आधुनिक भइसकेको छ। FYUGP, CUET, Samarth Portal, CBCS तथा Semester System जस्ता परिवर्तनहरूले शिक्षा प्रणालीलाई अझ लचिलो, अनुसन्धानमुखी तथा रोजगारमुखी बनाउने प्रयास गरेका छन्। तर यी अवसरहरूको सही उपयोग गर्न विद्यार्थीहरू सचेत, अनुशासित र योजनाबद्ध हुन आवश्यक छ। कक्षा १२ जीवनको एउटा महत्त्वपूर्ण मोड हो। यही समयमा सही निर्णय लिन सके भविष्य उज्ज्वल बन्न सक्छ। त्यसैले विद्यार्थीहरूले केवल परीक्षा उत्तीर्ण हुने सोच मात्र नराखी आफ्नो सम्पूर्ण शैक्षिक तथा करियर यात्राको दीर्घकालीन योजना बनाउनुपर्छ।


Leave a Reply