उच्च शिक्षा, विषय छनोट र भर्ना (Admission) प्रक्रियाबारे विस्तृत मार्गदर्शन

हिजो मैले यस विषयमा केही महत्त्वपूर्ण जानकारीहरू साझा गरेको थिएँ। आज त्यसैमा केही थप कुराहरू जोड्न चाहन्छु।


हाम्रा केही साथी तथा विद्यार्थीहरू नेपाली विषयमा SLET (State Level Eligibility Test) परीक्षा त उत्तीर्ण भए, तर अन्त्यमा प्रमाणपत्र पाउन सकेनन्। अर्थात्, उनीहरूको कडा मिहिनेत र सफलता त्यसै खेर गयो। यसो हुनुको मुख्य कारण उनीहरूको एउटा सानो प्राविधिक गल्ती थियो।
उनीहरूले आवेदन फर्म (Application Form) भर्दा आफ्नो श्रेणी OBC Non-Creamy Layer (NCL) उल्लेख गरेका थिए। नियमअनुसार, कसैले पनि जुनसुकै सरकारी परीक्षा वा जागिरको लागि आवेदन दिँदा, आवेदन प्रक्रिया सकिनु अगावै सम्बन्धित प्रमाणपत्र (Certificate) जारी भइसकेको वा कम्तीमा आवेदन दिइसकेको हुनुपर्छ। तर, हाम्रा ती साथीहरूले SLET को परीक्षा दिएर, कसैकसैले उत्तीर्ण गरिसकेपछि मात्र OBC-NCL को प्रमाणपत्र दखास्त गरी हात पारी पेस गरे, जुन चाहिँ NTA (National Testing Agency) वा परीक्षा बोर्डको नियम र प्रावधानको विपरीत थियो।


OBC-NCL प्रमाणपत्रको एउटा कडा नियम के छ भने: “सरकारले आर्थिक वर्षको जुनकुनै महिनामा प्रमाणपत्र जारी गरे पनि, त्यो कानुनी रूपमा सोही आर्थिक वर्षको मार्च ३१ (31st March) मा समाप्त हुन्छ। उदाहरणका लागि, यदि कसैले डिसेम्बर २०२५ वा फेब्रुअरी २०२६ मा प्रमाणपत्र निकाल्यो भने, त्यो ३१ मार्च २०२६ सम्म मात्र वैध रहन्छ। त्यसैले, नयाँ आर्थिक वर्षमा हुने परीक्षा वा जागिरका लागि अनिवार्य रूपमा अप्रिल १, २०२६ वा त्यसपछिको नयाँ प्रमाणपत्र निकालेको हुनुपर्छ।”


एउटा स्नातकोत्तर (M.A.) उत्तीर्ण गरिसकेको बौद्धिक विद्यार्थीले यति सामान्य तर अति महत्त्वपूर्ण कानुनी प्रक्रिया थाहा पाउनु आवश्यक छ। यही एउटा सानो गल्तीका कारण, ती उत्तीर्ण भएका विद्यार्थीहरूले पछि मन्त्री, विधायक (MLA) वा विभिन्न सङ्गठनहरू लगाएर धेरै दौडधुप गर्दा पनि नियमविपरीत भएकाले आफ्नो पास गरेको प्रमाणपत्र हात पार्न सकेनन्। विडम्बना त के भने, पछि दोस्रो पटक परीक्षा दिँदा उनीहरू केही त अनुत्तीर्ण समेत भए।
यो घटनाबाट हामीले बुझ्नुपर्ने मुख्य कुरा:
यदि तपाईं कुनै पनि क्षेत्रमा OBC-NCL आरक्षणको फाइदा लिन चाहनुहुन्छ भने, आवेदन भर्नुअगावै नयाँ प्रमाणपत्र निकालेर सुरक्षित राख्नुहोस्। र सधैं सम्झनुहोस्—यो प्रमाणपत्र केवल मार्च ३१ सम्मका लागि मात्र वैध हुन्छ, त्यसपछि यसलाई नवीकरण (Renew) गर्नैपर्छ।


PRC अथवा Domicile


अचेल उच्च शिक्षा (Higher Education) मा भर्ना हुन वा कक्षा ११ (Class 11) मा एडमिसन लिन स्थायी बासिन्दाको प्रमाणपत्र अर्थात् PRC (Permanent Resident Certificate) अनिवार्य रूपमा चाहिन्छ। त्यसैले, समयमै सरकारी पोर्टल (Assam Sewa Setu Portal) मार्फत यसका लागि आवेदन दिएर प्रमाणपत्र निकालिराख्नुपर्छ। यदि कुनै कारणवश सम्बन्धित निकायले PRC जारी गरेनन् भने, त्यसको विकल्पमा डोमिसाइल सर्टिफिकेट (Domicile Certificate) दिन्छन्, त्यो पनि अनिवार्य रूपमा निकालेर राख्नुपर्छ।


यस प्रक्रियामा सबैभन्दा ध्यान दिनुपर्ने अर्को मुख्य कुरा के हो भने—तपाईंका सबै सरकारी दस्तावेजहरूमा (जस्तै: नागरिकता, शैक्षिक प्रमाणपत्र, आधार कार्ड, PRC आदि) नाम र थरको हिज्जे (Spelling) मा कुनै पनि त्रुटि वा बेमेल हुनुहुँदैन। हेर्दा वा सुन्दा यो अति नै सामान्य विषय जस्तो लाग्छ, तर पछि डकुमेन्ट भेरिफिकेसन (Document Verification) को समयमा यही एउटा सानो गल्तीले तपाईंको भविष्यमा ठुलो सङ्कट पैदा गराउन सक्छ।


BTR मा जागिर र भविष्यको सुरक्षा: अभिभावक र युवाहरूले ध्यान दिनुपर्ने महत्त्वपूर्ण कुरा


कतै-कतै विज्ञापनहरूमा BTR (Bodoland Territorial Region) भित्रका सरकारी जागिरहरूमा BTR का रैथाने बासिन्दाहरूलाई प्राथमिकता वा आरक्षण दिइने कुरा स्पष्ट रूपमा लेखिएको हुन्छ। तर यो सुविधा पाउनका लागि आवेदनकारी (Candidate) को आफ्नै नाममा भोटर आईडी (Voter ID) वा आफ्नै नाममा रहेको जग्गाको प्रमाणपत्र (माटाको पट्टा) अनिवार्य रूपमा आवश्यक पर्दछ। यी महत्त्वपूर्ण दस्तावेजहरू पहिले नै तयार पारेर सुरक्षित राखेको हुनुपर्छ।
त्यसकारण, अबउसो अभिभावकहरूले आफ्ना छोराछोरीहरूको भविष्य र सुविधाका लागि आफू जीवित छँदै उनीहरूको नाममा जग्गा नामसारी (Mutation) गरिदिएको राम्रो हुन्छ। यदि जग्गा संयुक्त (एजामाली/Ejmali) छ भने पनि, त्यसमा छोराछोरीको नाम समावेश गराई (नाम उठाइदिएर) राखिदिएमा उनीहरूलाई भविष्यमा धेरै सजिलो हुन्छ।


कुरा जागिरको मात्र होइन, विदेश यात्राको पनि हो। कहाँसम्म भने, कुनै-कुनै विकसित देशहरूको भिसा (Visa) का लागि आवेदन दिँदा, आवेदनकारीको भारतमा आफ्नो नाममा कुनै चल-अचल सम्पत्ति वा जग्गा जमिन छ कि छैन भन्ने कुरा समेत हेरिन्छ। यस्तो अवस्थामा जग्गा अभिभावकको नाममा हुनुभन्दा आवेदनकारी (दर्खास्तकारी) को आफ्नै नाममा भएको धेरै उत्तम र कानुनी रूपमा बलियो मानिन्छ।


गोर्खा प्रमाणपत्र


गोर्खा प्रमाणपत्रको महत्त्व, योग्यता र जारी गर्ने अधिकारीबारे विस्तृत जानकारी
रक्षा (Defense), अर्धसैनिक (Paramilitary) र सार्वजनिक क्षेत्रका सरकारी जागिरहरूका लागि गोर्खा समुदाय प्रमाणपत्र (Gorkha Community Certificate) एक अनिवार्य र अति महत्त्वपूर्ण सरकारी दस्तावेज हो। विशेष गरी असममा हुने भारतीय सेना, असम राइफल्स र केन्द्रीय सशस्त्र पुलिस बल (CAPF) जस्ता विभिन्न भर्ती र्‍यालीहरूमा यस प्रमाणपत्रको ठुलो महत्त्व छ, जसले गोर्खा समुदायका युवाहरूलाई शारीरिक मापदण्ड (जस्तै: उचाइ र छातिको चौडाइ) मा विशेष छुट (Relaxation) दिलाउँछ। यो प्रमाणपत्रका लागि असमका स्थायी बासिन्दा भएका र गोर्खा जातिका वैध भारतीय नागरिकहरूले आवेदन दिन सक्छन्। असम सरकारको सामाजिक न्याय र अधिकारिता विभाग को निर्देशिका अनुसार, यो प्रमाणपत्रलाई राज्यको आधिकारिक सेवा सेतु पोर्टल (Assam Sewa Setu Portal) मार्फत डिजिटल रूपमा प्रक्रियामा लगिन्छ र सम्बन्धित जिल्लाका डेपुटी कमिस्नर (DC) वा सब-डिभिजनल अफिसर (Civil) को आधिकारिक हस्ताक्षर र अनुमतिमा जारी गरिन्छ।


विद्यार्थीहरूको भविष्य र जातीय सङ्गठनहरूको भूमिका: एक आवश्यक बहस


यदि हाम्रा जातीय सङ्गठनहरूले विभिन्न शैक्षिक तथा प्राविधिक संस्थाहरूसँग सहकार्य (Collaboration) गरेर—सामान्य क्षमता भएका वा धेरै उच्च शिक्षा हासिल गर्न नसक्ने विद्यार्थीहरूका लागि छोटो अवधिको तालिम (Short-term Training) वा इन्टर्नसिप कार्यक्रम (Internship Programme) हरू आयोजना गरिदिने हो भने, उनीहरूको भविष्य निर्माणमा ठुलो मद्दत पुग्नेछ। यसका साथै, आर्थिक रूपमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति वा आर्थिक सहयोग उपलब्ध गराउन सके उनीहरूको ठुलो कल्याण हुने थियो। तर प्रश्न उठ्छ—यी महत्त्वपूर्ण कामहरू आखिर कसले गर्ने?

डा खगेन शर्मा
गुवाहाटी विश्वविद्यालय

2 responses to “उच्च शिक्षा, विषय छनोट र भर्ना (Admission) प्रक्रियाबारे विस्तृत मार्गदर्शन”

  1. Shekhar Upadhyay Avatar
    Shekhar Upadhyay

    राम्राे जानकारी

  2. Deben Sapcota Avatar
    Deben Sapcota

    उत्तम प्रस्तुति ! विद्यार्थी हरूका लागि सही मार्ग दर्शन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *